नेपालमा कोरोनाका कारण पहिलो मृत्यु,यो सँगै नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश

  • 62
    Shares

३ जेठ काभ्रे । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोनाबाटै मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय सुत्केरी महिलाको कोरोना भाइरसबाटै मृत्यु भएको पुष्टि गरे ।

यो सँगै नेपालमा कोरोना संक्रमण लेवल–३ मा प्रवेश गरेको छ । नेपाल कोरोनाको उच्च जोखिममा रहेको देखिएको छ । दुई साता यता मुलुकका २५ जिल्लाहरुमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको अवस्थामा सुस्केरी महिलाको मृत्यु भएपछि जनमानसमा झन त्रास बढेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले मृत्यु भएकी महिलाको अवस्था, उनमा लागेको रोग तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्टको थप अध्ययन गरेर कोरोनाकै कारण मृत्यु भएको यकीन गरिएको बताए ।

स्वासप्रस्वासमा समस्या भएपछि विहिबार धुलिखेल अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको थियो ।

शुक्रबार साँझ श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा खोज्दै निधन भएको थियो । उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने कोशिष गरेपनि सफल हुन सकेनन् ।

कोरोनाको आशंका गर्दै उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआरबाट स्वाब परीक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालले उक्त रिपोर्ट सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । त्यसपछि मन्त्रालयले ती महिलाको स्वाब पुनः मगाएर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

मृत्यु भएकी सुतकेरीकाे बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

उनकाे बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

उनकाे नेपाली सेनाकाे निगरानी र सुरक्षामा पशुपति क्षेत्र स्थित विद्युतिय शव गृहमा अन्तिम दाह संस्कारकाे काम भइरहेकाे छ ।

यता सिनधुपाल्चाेक जिल्ला प्रशासन कार्यलयले मृतकको घर र माइती गाउँलाई सिल गरेकाे छ । मृतकको घर बाह्रबिसे नगरपालिका- ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

प्रकाशित : २०७७, ३ जेष्ठ शनिबार २२:४३