अख्तियारका १५ जनामा कोरोनाभाइरस संक्रमण

  • 20
    Shares
२० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु अधिकांश प्रहरी कर्मचारी भएकाे जानकारी दिएका हुन् ।
‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने।
अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।
‘परीक्षण गर्दा गत बिहीबार उहाँमा कोरोना संक्रमण पुष्टि भयो। शुक्रबारदेखि आयोगमा ठूला बैठक रोकिएका थिए,’ उनले भने।
प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो।
पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित : २०७७, २० श्रावण मंगलवार १४:१३