पाटन अस्पताल उपचाररत् कोरोना संक्रमितको मृत्यु

  • 4
    Shares

 

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो।

उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। डा। शर्माले मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए।

स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो।

त्यस्तै सिरहा गोलबजारका २५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी दुई वर्षदेखि किड्नीका बिरामी थिए। जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका उनलाई कोरोना पोजेटिभ देखिएपछि धरान रिफर गरिएको थियो।

अस्पताल भर्ना गर्नेबित्तिकै उनको डायलासिस थालिएको थियो। त्यहीँ क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ पुगेको छ।

प्रकाशित : २०७७, २३ श्रावण शुक्रबार १२:५३