छोराछोरी लाहुर ; आमावुवाको दिन चरियाँ चौतारीमा रमाउदै

  • 15
    Shares

११ वैशाख, रत्ननगर । चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् ।

बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटा ढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र  बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् । बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक किनारमा प्रतीक्षालय पनि बन्न थालेका छन् । यी ठाउँमा यात्रु प्रायः देखिँदैनन् ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका–११ विशाल चोकमै वरपिपलको रुख छ । नजीकै प्रतीक्षालय छ । यहाँको छहारीमा प्रायः वृद्धवृद्धा नै सुस्ताइरहेका भेटिन्छन् । भरतपुर–११ का ८५ वर्षीय जगन्नाथ सुवेदी यही चौतारीमा दिनहुँ भेटिन्छन् । भानु नगरपालिका तनहुँमा जन्मिनुभएका सुवेदी चितवनमा बस्ती शुरु हुन थालेपछि झरेका थिए । जागीरका सिलसिलामा उनी ‘पञ्चायत विकास अधिकारी’ (पिडिओ) का रुपमा २०१७ सालमा पहिलो पटक चितवन आए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

सबै रोजगारीका लागि व्यस्त छन् । छोरा मधु २२ वर्षदेखि बेलायतमा छन् । एक एक नाति नातिनी पनि उतै छन् । छोरीहरुको बिहेबारी भइसक्यो । “दिन कटाउन यही चौतारीको सहारा लिएको छु”,उनले भने, “प्रायः बिहान १० बजेदेखि यहीँ आउँछु, मजस्तै अरुलाई भेट्छु, गफ गर्‍यो, बस्यो ।”

दिनभरि देशको अवस्थाबारे निकै मीठो गफ चल्छ । जीवन भोगाइबारेका कथा एकार्काले सुनाउँछन् । “छोरा कृषि विज्ञका रुपमा केही समय नेपालमै काम गरेको हो”, उनी सम्झिन्छन्, “अहिले परिवारसहित बेलायतमै छ, अत्यार लाग्दा बोलाउँछु ।” नातिनी बेलायतमै बीएस्सी पढ्दैछिन् । “छोरीको पढाइ सकेपछि नेपाल आउँछु, नआत्तिनू बुबा भनेर छोराले सुनाउँछ”, उनले भने, “यही चौतारी नै घरजस्तो लाग्छ, परिवारकै सदस्यसँगै बसेजस्तो अनुभव हुन्छ ।”

७३  वर्षीय टीकाराम पौडेल पनि दिनभर जमघटमै बस्न रुचाउँछन् । उनी घर सुनसान बनेपछि चौतारीमै आइपुग्छन् । एक छोरा १० वर्षदेखि अष्ट्रेलियामै छन् । चार छोरी पनि आफ्नै कर्मघरमा व्यस्त छन् । बेलाबेला नातिनातिना आउँछन् । अरु बेला घर सुनसान बन्छ । उहाँले करीब २६ वर्षसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लेखा र पुस्तकालयमा काम गरेका थिए । उनी विसं २०२७ मा स्याङ्जा बाङ्िसङबाट चितवन झरेका थिए । “जागीरमा हुँदा एक्लो महसुस भएन”, उनले भने, “अहिले जागीर पनि छैन, छोराछोरी पनि नजीकै छैनन्, सन्तानको अभाव जस्तो लाग्दोरहेछ ।”

रोजगारीका लागि विदेशिएपछि धेरै वृद्धवृद्धले आफूले एक्लो महसुस गर्दै चौतारीमा आइपुगेको बताउँछन् “देशमै काम गरेको भए हामीलाई पनि सन्तोष मिल्थ्यो”, उनी भन्छन्, “बूढेसकालमा सहारा बढी चाहिने रहेछ, बरु स्वदेशमै लगानी गरेर बसे हुन्छ भनेर सम्झाउने गरेको छु ।”

वृद्धवृद्धाकै आग्रहमा चौतारीमा कङ्क्रिटका कुर्सी राखिएका छन् । केहीले आफ्नै बचत रकममा कुर्सी बनाएका छन् । यहाँ एकै पटक ३० जना बस्न मिल्छ । कुनै बैठककै झल्को देखिन्छ । वरपीपलको छहारीले वृद्धवृद्धालाई ऊर्जा दिन्छ । पञ्चायतकालमा कुनै पार्टीको केन्द्रीय सदस्यसमेत बनेका थमनारायण लामिछाने ७३ वर्षका भए । पहिला राजनीतिमा निकै सक्रिय थिए । जाँचबुझ समितिको पनि जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।

अहिले उनलाई चौतारी नै प्यारो बनेको छ । दुई छोरामध्ये जेठो सुमन र कान्छो  अमन अष्ट्रेलियामा छन् । उनीहरु विदेशिएको झण्डै १० वर्ष भयो । “कान्छो छोरालाई मैले नै पठाएकै हो, ठूलोलाई यहीँ क्याम्पस पढाएर बस भनेको थिएँ”, उनले भने, “तर सबैले विदेश नै ताक्ने हुँदोरहेछ, आखिर दुई वटै छोरा विदेशिए ।”

उनी छोराहरुले आफूलाई “उतै जाऊँ” भन्दा नेपाल छाड्न मन नलाग्ने बताउँछन् । “एक्लै कसको घरमा जानू, काम गर्न अलिअलि सकिन्थ्यो होला, कामै छैन”, उनले भने, “अहिले तर शरीरमा अलिकति तागत छ, पिर छैन तर पछि बिरामी पर्दा स्याहार गर्न को आउलान् भन्ने पिर पर्छ ।”

कलैया, गोरखा र चितवन बिहेबारी भएका छोरीहरुका परिवार बेलाबखत भेट्न आउँछन् । चौतारीमा पौराणिक, राजनीतिक र कहिलेकाहीँ ‘रोमान्टिक’ गफ चल्ने उनको भनाइ छ । चौतारीमा भेटिएका यी प्रतिनिधिमूलक पात्र हुन् । दिनभरि चौतारीमा रमाए पनि घर पुगेपछि उनीहरु निकै चिन्तामा पर्छन् । छोराछोरीले कमाए पनि साथमा नहुँदा उनीहरु निराश बन्छन् । वैदेशिक रोजगारीले गर्दा ज्येष्ठ नागरिकहरु एक्लिएका छन् ।

प्रकाशित : २०७६, ११ बैशाख बुधबार १७:४३