काँग्रेस नेता रामकृष्णकाे अन्तिम दाहासंस्कार

  • 22
    Shares

काठमाडौं,बैशाख ११ । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको बुधबार हिन्दू परम्पराअनुसार अन्तिम दाहासंस्कार गरिएको छ ।पशुपति आर्यघाटमा कांग्रेस नेता स्वर्गीय ताम्राकारको वैदिक विधिपूर्वक अन्त्येष्टी गरिएको हो । अन्त्येष्टी गर्नुभन्दा पहिले ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । नेता ताम्राकारको मंगलवार निधन भएको थियो । उनी दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

   कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका दिवंगत नेता ताम्राकारको शवमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । कांग्रेसका अन्य केन्द्रीय नेता र शुभेच्छुकहरूले पनि ताम्राकारलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
विस २०४८ र २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित भएका स्व.ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत विभिन्न मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।


वीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका स्व.ताम्राकारले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेता ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहेका थिए ।

प्रकाशित : २०७६, ११ बैशाख बुधबार २३:४९