आज १०७ औँ विपी जयन्तीः विभिन्न कार्यक्रम गरी यसरी मनाइँदै छ देशभर

२४ भदौ काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती ।
आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने कार्यक्रम रहेको छ । सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रदीप गिरी, गगन थापालगायतका नेताहरु सहभागी हुने धेरै कार्यक्रम तय भएका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला विक्रम संवत १९७१ भदौ २४ गते को जन्मिनु भएको थियो ।
कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी थिए ।
राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बने ।
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष कोइरालाले जेल जीवन बिताउनु भयो ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।
भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।
दुवै दल एकीकृत भई बनेको काँग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेस भनेर चिनिन्छ ।
क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
उहाँको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
सुन्दरीजल बन्दी गृहमा राखिनुभएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको थियो ।
उहाँको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।