नेप्सेको अनलाईन मा लगातार समस्या आएपछि अर्थ मन्त्रालय को चासो

काठमाडौ ,नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनलाइन कारोबारमा पटक पटक समस्या आएपछि अर्थ मन्त्रालयले चासो लिएको छ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज दुबैका प्रमुखलाई अर्थ मन्त्रालयले छलफलका लागि सोमबार बिहानै बोलाएको छ।

गएको सातादेखि नेप्सेको अनलाइन कारोबारमा पटक पटक समस्या देखिएको छ। अनलाइनमा समस्या देखिएपछि कारोबार समय लम्व्याउँदै कारोबार गरिएको थियो। आइतबार (आज) भने पुन: त्यही समस्या देखिएपछि कारोबार रोकिएको छ।

सरकारको बढी लगानी रहेको नेप्सेमा पटक पटक समस्या देखिएपछि अर्थ मन्त्रालयले चासो दिएको हो। अनाहकमा लगानीकर्ताले दुख पाएपछि अर्थ मन्त्रालय नेप्से र सेबाेन दुवै निकायसँग आक्रोशित देखिएको छ।

नेप्सेले प्राविधिक समस्याका कारण कारोबार हुन नसकेको जनाएको छ। तर के कस्तो प्राविधिक समस्या भएको हो भन्ने अझै यकिन नभएको नेप्सेको भनाइ छ। उसले सफ्टवेयर निर्माता कम्पनीसँग समस्याका बारेमा सोधिरहेको जनाएको छ। तर सफ्टवेयर कम्पनीले गडबडीको प्राविधिक नोट अझै नदिएको उसको भनाई छ।

अघिल्लो पटक गडबडी हुँदा नेपाल धितोपत्र बोर्डले नेप्सेका अधिकारीलाई डाकेर सोधेको थियो। त्यस बेला समेत नेप्सेका अधिकारीले प्राविधिक समस्या बताएका थिए। उक्त कार्यलाई बोर्डले गैर कानुनी भन्दै उक्त समस्या नदोहोरिने गरी कार्य गर्न सम्झाएको थियो। तर समस्या पुन: दोहोरिएपछि के गर्ने भन्ने विषयमा बोर्ड समेत अलमलमा देखिएको छ।

यस विषयमा के गर्ने भनेर आइतबारै बोर्डका अधिकारीहरू सम्मिलित बैठक डाकिएको छ। उक्त बैठकले दिएको सुझावको आधारमा प्रक्रिया अघि बढ्ने बुझिइएको छ। तर यता लगानीकर्ता भने नियमित कारोबार समयमा पटक पटक समस्या आएपछि आक्रोशित छन्।