पूर्वडीएसपीको टिकटक मोह : सशस्त्रका आईजीपीको युनिर्फम दुरुपयोग

  • 70
    Shares

भदौ ३०, काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् कृष्ण सिवाकोटी । अहिले उनी अभिनय गर्छन् । उनले विभिन्न टेलिसिरियलदेखि फिल्महरुमा अभिनय गरेका छन् ।

पछिल्लो समय टिकटकबाट सेलिब्रेटी बन्नेहरुको दौड छ । सिवाकोटीको पनि टिकटक आईडी छ । @krishnasiwakoti02 सिवाकोटीको टिकटक आईडी हो ।

सिवाकोटीको टिकटक आइडीको ‘प्रोफाइल पिक्चर’मा राखिएको तस्बिर पत्याउनै नसक्ने खालको थियो । सिवाकोटीले सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को युनिफर्म लगाएको फोटो राखेका थिए । यद्यपी उनले अहिले हटाइसकेका छन् ।

टिकटकमा छाउनकै लागि नेपाल प्रहरीका पूर्वडीएसपी सिवाकोटीले सशस्त्र प्रहरीका आईजीपीको युनिफर्मको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

अभिनयमा सिवाकोटी प्रहरीको भूमिकामा देखिन्छन् । कुनैमा प्रहरी निरीक्षक (इन्सपेक्टर) त कुनैमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को युनिफर्म लगाएर अभिनय गर्छन् । अहिलेसम्म आईजीपीको युनिफर्म लगाएरै अभिनय गरेको कतै पनि देखिएको छैन । तर, सिवाकोटीले आईजीपीको युनिफर्म लगाएर कहाँ फोटो खिचे ?

यद्यपी सशस्त्र मुख्यालयबाट सिवाकोटीलाई सम्पर्क गरेर हटाउन आग्रह गरेपछि उनले प्रोफाइल पिक्चर हटाएका छन् । आइन्दा यस्तो गल्ती नदोहोर्यानु भन्दै सशस्त्र मुख्यालयले सिवाकोटीलाई चेतावनीसमेत दिएको छ ।

यस विषयमा सिवाकोटीले वीरगंना चलचित्रको अभिनय गर्दा आईजीपीको रोल भएको कारण युनिफर्म लगाएको बताए । उनले भने, ‘यसमा नराम्रो कुरा के नै छ र ?’ उनले प्रतिप्रश्न गरेका छन् । टिकटक अकाउन्ट अरु नै कसैले खोलिदिएको सिवाकोटीको भनाइ छ ।

‘एकजना भाइले अकाउन्ट खोल्दिनुभएको हो,’ शिवाकोटीले भने– ‘फोटो पनि उहाँले नै राख्दिनुभएको हो, मलाई हटाउन पनि आउन्न ।’

टिकटकमा चर्चित हुनकै लागि केही समयअघि पहाडी सडकमा गाडी स्टार्ट गरेर छाडिएको भिडियो भाइरल भएको थियो । पछिल्लो सयम टिकटकमा भाईरल हुनकै लागि गैरफौजी व्यक्तिहरुले वर्दिको फोटो र हतियार दुरुपयोग गर्ने गरेका छन् ।

केही समयअघि एकजना प्रहरी नायब निरीक्षक (सई)को पेस्तोले बोकेर उनकी पत्नीले टिकटक बनाएकी थिइन् । सुरक्षाकर्मीको पोशाक अन्य व्यक्तिले लगाउन मिल्दैन् ।

तर, सामाजिक सञ्जालमा भाइरल हुनकै लागि पोशाक र हतियारको दुरुपयोग हुने गरेको पाइन्छ । नेपाली सेनाले लकडाउन शुरु भएपछि सैन्य पोसाक दुरुपयोग गर्नेविरुद्ध सर्च अपरेशन नै चलाएको थियो ।

प्रकाशित : २०७७, ३० भाद्र मंगलवार १८:०७