नमूना विद्यालयका प्रधानाध्यापकले गरे करोडौं भ्रष्टाचार

  • 3
    Shares

१ असोज, सिरहा । श्री जनता नमूना माध्यमिक विद्यालय (प्राविधिक घार) सखुवानन्कारकट्टी–१ मौवाहीमा व्यापक अनियमितता भएको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयका प्रधानाध्यापक रामपृत यादवले विद्यालयको पूर्वाधार निर्माण तथा शैक्षिक सामाग्री खरिदमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिसहित स्थानीयले आरोप लगाएको हुन् ।

नमूना विद्यालयको लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामाग्री व्यवस्थापनको लागि ०७५÷७६ छुट्याइएको एक करोड ५० लाखमा व्यापक अनियमितता भएको स्थानीयको आरोप रहेको छ । सो रकमध्ये ९७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्ने भनेपनि सो काम अझै पुरा नभएको विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य समेत रहेका बालेश्वर यादवले जानकारी दिए ।

बाँकी कामको रकम शैक्षिक सामग्री खरिदको लागि दिएको भएपनि त्यसको कुनै सामग्री खरिद नगरी रकम निकासा गरेको सुनाए । निर्माणको काम भएपनि व्यवस्थापन समिति र स्थानीयलाई कुनै जानकारी नै नगराई काम गरेपछि स्थानीयले सोधखोज सुरु गरेको थियो । सोधखोजपछि विद्यालयमा व्यापक अनियमितता भएको खुलेको स्थानीयको भनाइ छ ।

आर्थिक अनियमिता गरेको विषयमा छानविन गर्न सम्बन्धित निकायसँग स्थानीय र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले माग गरेका छन् । उनीहरुले छानविन गरी व्यापक अनियमितता गर्ने विद्यालयका प्रधानाध्यापक रामपृत यादवमाथि कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा पनि विद्यालय सुधार गुरुयोजना अन्तर्गत १ करोड ५० लाख थप रकम आएपनि कुनै कामै नगरी प्र.अ.ले रकम निकासा गरको स्थानीय अगुवा दिपेश यादवले जनाए । पछि स्थानीयले गाउँपालिका, शिक्षा समन्वय समिति र केन्द्रसम्म पुगेर खोजतलास सुरु गरेपछि प्रअले पछिल्लो एक महिनाबाट काम थालेका छन् ।

०६८/६९ देखि हालसम्मको विद्यार्थीबाट उठाएको शुल्क र विभिन्न निकायबाट उठाएको करिब १० करोडको आर्थिक पारदर्शिता गरिदिन प्राधानाध्यापक रामपृत यादवसँग माग गरेको जनता समाजवादी पार्टीका नेता समेत रहेका दिपेश यादवले बताए ।

विद्यालयको निर्माणको हरेक सामग्री, निर्माण मिस्त्रि तथा मजदुर सबै प्रअ आफैले ल्याउने र काम गर्ने गरिरहेको यादवले बताए । विद्यालयको हिसाब किताब माग गर्न थालेपछि प्र.अ. यादव विद्यालय आउन छाडेको पाइएको छ ।

प्र.अ. यादवले निर्माण बाहेक कम्प्युटर खरिदको लागि आएको रकम, ल्याब व्यवस्थापनको लागि आएका रकमहरु पनि सामाग्री खरिद नगरी निकासा गरेर आफ्नो नीजि काममा प्रयोग गरेको स्थानीयको आरोप छ । प्र.अ. यादवले दिवा खाजाको रकम समेत ७ दिनजति खुवाएर ५२ लाख निकासा लिएको पाइएको छ ।

विद्यालयको कम्प्यूटर ल्याब व्यवस्थापन तथा खरिदको लागि २०७३/७४ मा २७ लाख रुपैयाँ निकासा भएपनि एक थान कम्प्युटर खरिद नगरी रकम निकासा गरेर झ्वाम पारेको विद्यालय व्यवस्थापन समितिक अर्का सदस्य रामजी यादवले सुनाए ।

उनले भने, ‘त्यसबेला विभागबाट आएको २७ लाख प्रअले नीजि काममा प्रयोग गरेपछि गाउँपालिकाले दिएको रकमले कम्प्युटर खरिद गरेको छ । त्यसैलाई दुवैतिर देखाएर रकम झ्वाम पारेका हुन् ।’

विद्यालयमा विपक्षीले आरोप लगाएजस्तो कुनै अनियमिता नभएको विद्यालयका प्राधानाध्यापक रामपृत यादवको भनाइ छ । समितिको नाम र कुन शीर्षकमा कति रकम आएको र कहाँ खर्च भएको हो भनी विवरण माग गर्दा भने उनले आफू बिरामी परेर अस्पतालमा रहेको भन्दै पन्छिए ।

खोज्दै जाँदा विद्यालयको विभिन्न शीर्षकमा आएका रकमहरु प्रअ यादवले अनियमितता गरेको खुलासा भएको छ । यस सम्बन्धमा प्रधानाध्यापक यादवसँग बुझ्दा उनले आफूले सबै काम समितिमार्फत नै दावी गरे ।

उनले विद्यालयमा विपक्षीले आरोप लगाएजस्तो कुनै अनियमिता नभएको बताए । हामीले समितिको नाम र कुन शीर्षकमा कति रकम आएको र कहाँ खर्च भएको हो भनी विवरण माग गर्दा भने उनले आफू बिरामी परेर अस्पतालमा रहेको भन्दै पन्छिए ।

यता गाउँपालिकाले विद्यालयमा निर्माण तथा शैक्षिक सामाग्री खरिदका लागि आएको रकम विद्यालयको खातामा पठाइदिएको र त्यहीँबाट सबै काम हुने गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले हामीले प्रक्रियाअनुसार विद्यालयको खातामा पठाएपनि कामहरु भएको दावी गरे । उनले भने, ‘केही कमजोरी भएको भन्ने आफूलेपनि सुनेको भन्दै यसविषयमा खोजविन हुन्छ ।’

उक्त विद्यालयलाई प्रदेश सरकारले नमूना विद्यालय घोषणा गरेको छ । नमूना भएपछि डेढ करोड रुपैयाँ विद्यालयमा आयो । तर, ती रकममा पनि प्रधानाध्यापकले अनियमितता गरेका छन् । नमूना घोषणा भएपछि आएको डेढ करोड बजेटमध्ये ६५ प्रतिशत पूर्वाधारमा, २५ प्रतिशत शैक्षिक गतिविधिमा र १० प्रतिशत रकम व्यवस्थानमा खर्च गनुपर्ने हुन्छ । तर, मापदण्ड बमोजिक प्र.अ.ले खर्च गरेका छैनन् ।

शौचालयको अवस्था दर्दनाक


जनता नमूना माध्यमिक विद्यालयका शौचालय फोहोर, र दुर्गन्धित छ । त्यसमा चिप्ला, अँध्यारा र साँघुरो छ । शौचपछि सरसफाइका लागि पानीको व्यवस्था छैन । शौचालय समेत व्यवस्थित नबनाउनु विद्यालयको लापरबाही हो ।

एक स्थानीयका अनुसार बालबालिकाले शौचका लागि घरतिर दौडिनुपर्ने अवस्था छ । शौचालय र पानीको अभाव आम विद्यालयकै समस्या भए पनि यो विषयलाई शैक्षिक सरोकारवालाले गम्भीर ढंगले लिएका छैनन् ।

यसले बालिका तथा किशोरीलाई बढी मर्का पर्छ । कतिपय विद्यालयले पाखापखेरालाई शौचालय बनाएका छन् । कक्षा ५ नपुग्दै महिनावारी भइसक्ने बालिका तथा किशोरीका लागि शौचालयको समस्याले कष्ट दिन्छ । उनीहरूले शौच गर्दाको समस्या कसलाई सुनाउने ?

गुणस्तरीय शिक्षा प्रदान गरेको हुंकार गर्दै चर्को शैक्षिक शुल्क असुल्ने नमूना माध्यमिक विद्यालयको शौचालयको अवस्था हेर्दा दर्दनाक नै छ । शौचालय जान समेत डराउनुपर्ने अवस्था छ ।

प्रकाशित : २०७७, १ आश्विन बिहीबार १३:४९