प्रहरी चौकीमा महिला प्रमुख

  • 16
    Shares

असोज १, काठमाडौँ । प्रायःजसो ठाउँमा महिलालाई इञ्चार्ज दिँदैनन् । प्रहरीमा झनै इञ्चार्ज दिन मान्दैनन् । प्रहरी कमाण्ड सम्हाल्न महिलाभन्दा पुरुष नै सक्षम हुने भन्दै महिलाहरु इञ्चार्ज पाउनबाट वञ्चित हुँदै आएका छन् ।

जिल्ला नेतृत्वदेखि प्रहरीको तल्लो तहको युनिटमा पनि महिलाले इञ्चार्ज नपाएका थुप्रै जिल्लाहरुमा उदाहरण छन् । तल्लो प्रहरी युनिटको नेतृत्वमा पनि पुरुष नै हावी छन् ।

तर, यि सबै कुरालाई चिर्दै जिल्ला प्रहरी कार्यालय दाङको मातहतका युनिटमा महिलालाई इञ्चार्ज बनाएर पठाउन थालिएको छ । जिल्ला प्रहरी प्रमुख भएर दाङ आएपछि एसपी गणेश चन्दले जिल्लामा नयाँ अभियान सुरु गरेका छन् ।

एसपी चन्दले प्रहरीमा पुरुषले मात्रै इञ्चार्ज सम्हाल्न सक्छन् भन्ने कुरालाई चिर्नका लागि महिला प्रहरीलाई दर्जा अनुसारको जिम्मेवारी दिने गरी महिला प्रहरीलाई इञ्चार्ज बनाएर पठाउन सुरु गरेको बताए ।

उनले इञ्चार्ज बनाउनुभन्दा पहिले त्यो ठाउँको बारेमा बुझ्न जिल्लाबाट पठाउने र सबै कुरामा पोख्त भएपछि त्यो ठाउँमा महिलालाई इञ्चार्ज बनाएर पठाउने बताए ।

सुरु–सुरुमा इञ्चार्ज बन्ने हो भन्दा धेरै महिला प्रहरी धक मान्ने गरेको र पछि काउन्सिलिङ गर्न थालेपछि नेतृत्व गर्न तयार रहेको भनेर आत्मविश्वास बढाउने गरेको एसपी चन्दको अनुभव छ ।

चन्दकाअनुसार अहिले पहिलोचरणमा सतबरीया प्रहरी चौकीको इञ्चार्जमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी केसीलाई पठाइएको छ भने नर्तिको प्रहरी चौकीमा पनि असई शोभा गिरीलाई जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काले यो जिल्लामै नयाँ प्रकारको अभियान चलाइएको बताए । उनले सानोदेखि ठूलो दर्जासम्मका महिला प्रहरीलाई आत्मविश्वास बढाउन नयाँ एसपी आएपछि सुरुवात गरिएको बताए ।

प्रकाशित : २०७७, १ आश्विन बिहीबार १३:५७