रोल्पाको थवाङ गाउँपालिकाबाट ९ किलाे अफिम सहित दुईजना महिला पक्राउ

  • 38
    Shares
६ असाेज राेल्पा । जिल्ला प्रहरी कार्यालय राेल्पाबाट गएकाे प्रहरी टाेलीले रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिम सहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।
इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो ।                       
डिएसपी सुवेदीले भने, हामीले बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएका छाै, अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने हामीले अनुमान गरेका छाैं ।
बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
अदालतबाट लागुऔषध मुद्धामा म्याद थपेर उनिहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता शकंर खड्काले बताए ।
प्रकाशित : २०७७, ६ आश्विन मंगलवार १४:४०