बाराबाट नक्कली नोट सहित २ जना पक्राउ

८ असाेज काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् ।                                                                 
सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।
बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो एसपी पंगेनीले भने ।
चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ ।
उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको बताएका छन् ।
मोबाइल खरिद गर्ने व्यक्तिले नोट दिई ३० थान मोबाइल लिई फरार भएको पक्राउ परेकाहरूकाे दावी छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । मोबाइल लिई भागेका भनिएका व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित : २०७७, ७ आश्विन बुधबार २१:१५