सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह काभ्रे प्रहरीकाे फन्दामा

  • 5
    Shares
१९ असोज, काठमाडौं । सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् ।
काभ्रेका प्रहरी प्रबक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार उनीहरुको गिराेहले नुवाकोटको पेन्जोम शेर्पालाई २० असारमा १७ हजार अमेरिकी डलर भेट्टाएको भन्दै सस्तोमा दिने प्रलोभन देखाएका थिए । लामो बार्गेनिङपछि १२ साउनमा पाँचखालको लामीडाँडामा शेर्पालाई बोलाएर १० लाख रुपैयाँ लिएर उनीहरुले रुमालमा बाँधिएको पोको दिएका थिए ।
गत१२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् ।
लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको डिएसपी थापाले बताए ।
आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
उक्त गिरोहबाट काठमाडौँ उपत्यकालगायत अन्य जिल्लाहरुमा समेत अनेकौं किसिमका घटना घटाई फरार रहेको प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकतिका घटनाका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क हुने आह्वान समेत गरेको छ ।
केही दिनअघि महानगरीय प्रहरी परिसर भक्तपुरले पनि डलर साट्ने बहानामा लुट्ने बाह्रबिसेका दुईवटा समूहलाई पक्राउ गरेको थियो ।
यही गिरोहले अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने प्रहरी आशंका छ । त्यसैले यस प्रकारका घटना कसैसँग भएको भए, खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ । थप अनुसन्धान जारी छ ।
प्रकाशित : २०७७, १९ आश्विन सोमबार १९:१३