नेपाल-भारत सीमा विवादः कालापानी क्षेत्र नेपालको भएको दाबी गर्न पाँच किसिमका प्रमाण

नेपाल-भारत सीमासम्बन्धी प्रमाण सङ्कलन गर्न सरकारले गठन गरेको विज्ञ समूहले आइतवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाललीलाई प्रतिवेदन बुझाएको उक्त समूहका संयोजकले बताएका छन्।
उनले समूहले विभिन्न आधारहरूलाई टेकेर प्रमाण सङ्कलन गरी प्रतिवेदनमा समेटेको बीबीसीलाई बताए।
सरकारलाई बुझाइसकेको उक्त प्रतिवेदनभित्र “के-के कुरा समावेश छन् भन्ने विस्तृत विवरण भने सरकारले नै सार्वजनिक गर्ने” उनको भनाइ छ।
कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपाल र भारतबीच पछिल्लो विवाद उत्पन्न भएपछि सरकारले गत जेठमा उक्त समूह गठन गरेको थियो।
‘नेपाल-भारत सीमासम्बन्धी प्रमाण सङ्कलन कार्यका लागि विज्ञ समूह’को संयोजकमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेती थिए।
त्यस्तै विभिन्न क्षेत्रका विज्ञका रूपमा विपिन अधिकारी, सूर्यप्रसाद सुवेदी, तोयानाथ बराल, जगत भुसाल, हिमालय थापा र अप्सरा चापागाईँ सदस्य रहेका थिए।
परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई समूहको सदस्यसचिव तोकिएको थियो।
नेपाल-भारत सीमा यकिन गर्नका लागि समूहले विभिन्न प्रमाणहरू प्रतिवेदनमा पेस गरेको संयोजक उप्रेतीले बीबीसीलाई बताए।
उनका अनुसार उक्त प्रतिवेदनमा रहेका पाँचखाले प्रमाणहरू यस्ता छन्:
१. नदीसँग सम्बन्धित
समूहले सीमाङ्कनका लागि नदीसँग सम्बन्धित कुरालाई पहिलो प्रमाणका रूपमा प्रतिवेदनमा पेस गरेको छ।
त्यसमा नदीको मुहान, नदीको धार र नदीको बहाव आदि कुराहरू समेटिएको उप्रेतीले बताए।
उनले भने, “यो समूह गठन हुँदा नै विभिन्न क्षेत्रका विज्ञहरू हुनुहुन्थ्यो। नदी तथा जलस्रोतसम्बन्धी विज्ञसँग छलफल गरेर हामीले नदीसम्बन्धी प्रमाणलाई प्रतिवेदनमा समावेश गरेका छौँ।”
उनले नदीको मुहान किटान गर्न सक्नेगरी विभिन्न स्रोतबाट प्रमाणहरू जुटाएर प्रतिवेदनमा राखिएको जानकारी दिए।
२. नाप-नक्सासम्बन्धी
प्रतिवेदनमा नाप र नक्सासम्बन्धी अर्को प्रमाण पि भएको उप्रेतीको भनाइ छ।
उनका अनुसार नेपालसँग विभिन्न कालखण्डका नाप-नक्साहरू रहेको र तीनलाई प्रतिवेदनमा प्रमाणका रूपमा पेस गरिएको छ।
“हामीले कार्टोग्राफिक कुराहरूलाई पनि प्रमाणका रूपमा प्रतिवेदनमा समावेश गरेका छौँ,” उप्रेतीले भने, “नापी र नक्सासम्बन्धी विज्ञ पनि हाम्रो समूहमा भएकाले प्रमाणका रूपमा त्यसलाई समावेश गरिएको छ।”
प्रतिवेदनमा समावेश गरिएको नक्सासम्बन्धी प्रमाणका आधारमा भारतसँगको वार्तामा नेपालले बलियो तर्क राख्न सक्ने बताइएको छ।
३. ऐतिहासिक दस्तावेज
समूहले प्रमाणका रूपमा प्रतिवेदनमा ऐतिहासिक दस्तावेजहरूलाई पनि समावेश गरेको छ।
त्यस्ता दस्तावेजमा पहिलेका चिठीपत्रदेखि लिखतहरू र सन्धि तथा सम्झौताहरू छन्।
तर उप्रेतीले त्यस्ता ऐतिहासिक दस्तावेजमा के-के समावेश छन् भन्ने चाहिँ खुलाएनन्।
विज्ञ समूहमा इतिहासकारलाई पनि राखिएकाले यस्ता प्रमाणहरू जुटाइएको बुझिएको छ।
४. कानुनसँग सम्बन्धित
उप्रेतीका अनुसार समूहले अर्को प्रकारका प्रमणहरूका रूपमा कानुनसँग सम्बन्धित कुराहरू पेस गरेको छ।
त्यस्ता कानुनी प्रमाणहरूमा नेपाल र भारतबीच विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रका बासिन्दाले तिरो तिरेका कागजपत्रसहित विभिन्न प्रमाणहरू रहेको बताइएको छ।
तर उप्रेतीले त्यसबारे पनि विस्तृत विवरण दिन नमिल्ने बताए।
उनले भने, “हामीले कानुनसम्बन्धी प्रमाणहरू पनि प्रतिवेदनमा समावेश गरेका छौँ।”
५. प्राकृतिक स्रोतसम्बन्धी प्रमाण
प्राकृतिक स्रोतसँग सम्बन्धित प्रमाण पनि जुटाइएको उप्रेतीको भनाइ छ।
त्यसमा वनजङ्गलको क्षेत्र र तिनले चर्चेको भूगोलबारे प्राप्त कतिपय प्रमाणहरू समेटिएका छन्।
त्यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरूको उपभोगबारे पहिले भएका कतिपय निर्णयहरू पनि त्यसमा समावेश छन्।
तर ती प्रमाण के-के हुन् भन्ने पनि उप्रेतीले खुलाएनन्। बीबीसीबाट ।