अमेरिकामा कोविड हिरो : नवराज केसी

अमेरिकामा रहेर समाजसेवा गर्दै आएका एक नेपाली युवा कोविड हिरोको रुपमा सम्मानित भएका छन् ।                                                                            कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा आप्रबासीहरुको सहयोगको लागी जुटेका नवराज केसी सम्मानित भएका हुन् ।
कोरोना महामारी संक्रमण बढ्न थालेपछि सारा विश्व दुख, पीडा र संटमा थियो । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको विभिन्न प्रयासका कारण अमेरिकामा समेत आप्रवासीहरूको जनजीवन हम्मे हम्मे थियो । कतिपय देशका आप्रवासीहरू मानवीय सङ्कटमा परे ।                                                       
तर त्यस नवराजलगायत उनका सहकर्मीहरु प्रभावित  धेरै आप्रबासीको सहयोग तथा उद्धारमा जुटे । महामारीको अवधिमा न्यु योर्क सिटीमा धेरै तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो ।
विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै नवराज केसी पनि कमान्डर बनेर सक्रिय बनेका थिए, महाशक्ति राष्ट्र अमेरिकामा ।
सेवा गरे मेवा मिल्छ भन्ने आहन जस्तै उनै नवराजले मिठो मेवा प्राप्त गरेका छन् । उनी अमेरिकामा ब्रुकलिन साइटेसनबाट उनी सम्मानित भएका छन् । ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।

उनलाई सम्मान गर्दै सभामुख एरिक एडम्सले जोखिमपूर्ण अवस्थामा धेरै मानिसलाई सेवा गरी चुनौतीपूर्ण काम गरेको बताएका छन् । उनले प्रशंसा गरे ‘धेरै मानिसहरूलाई सहयोग गर्न अघि बढ्नु निक्कै गर्वको कुरा हो र यो नै ब्रुकलिन कोविड हिरोले गर्ने कार्यको उत्कृष्ट उदाहरण हो ।’
नवराज केसीकै पहलमा कोरोनाको महामारीको बेलामा क्वीन्स बोरो, बु्रकलिन बोरो र न्यू योर्क सिटी मेयर अफिसबाट नेपाली समुदायका लागि झन्डै १५ हजार मास्क, झन्डै ९ हजार ह्याण्ड स्यानिटाइजर, झन्डै १२ हजार ग्लोभ्स प्राप्त भएको थियो ।

विभिन्न सङ्घसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरू न्यु योर्क नेपाली समुदायलाई वितरण गरिएको थियो । न्यु योर्क मास्क, स्यानिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा प्राप्त ठुलो सहयोगले नेपाली समुदायलाई ठुलो राहत मिलेको थियो ।
नवराज केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्यु योर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काम मात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरू किनेर नेपाली समुदायलाई वितरण समेत गरे ।
रोटरी क्लब अफ न्यु योर्क क्वीन्सका तत्कालीन अध्यक्ष समेत रहेका उनकै नेतृत्वमा क्लबका तर्फबाट ५ सय थर्मामिटर र १० हजार पोका ज्वरोको औषधी टायलोनोल नेपालीहरूलाई वितरण गरिएको थियो । उनी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्यु योर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेशनलकडिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।

महामारीको अवधिमा न्यु योर्क सिटीबाट प्राप्त ७ हजार ५ सय छाक तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । न्यु योर्क ज्याक्सन हाइटमा रहेको ब्याम्बो हाउस रेष्टुरेण्टको अगाडि उक्त खाना वितरण गरिएको थियो । नवराज ब्याम्बो हाउसका सञ्चालक समेत हुन् ।