अर्थमन्त्रीसँग साटे पौडेलले प्रदेश राजधानी ! जिल्लामा व्यापक असन्तोष

  • 13
    Shares
काठमाडौं, २३ असोज । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले आफू अर्थमन्त्री बन्ने सर्तमा प्रदेश ५ को राजधानी भालुवाङ सार्न राजी भएका छन् ।
उनी राजी भएपछि प्रदेश ५ को सभाले मंगलबार प्रदेशको राजधानी भालुवाङ र नाम लुम्विनी तय ग¥यो ।
उनले आफ्नो जिल्लामा रहेको अस्थायी राजधानीसँग मन्त्री साटेपछि उनीविरुद्ध जिल्लामा व्यापक असन्तोष बढेको छ ।
प्रदेश राजधानीका विषयमा ध्वंशात्मक आन्दोलन हुँदासम्म पनि पौडेलले जिल्लामा नाकमुख नदेखाएपछि चर्को विरोध भएको हो ।
प्रदेशको राजधानी बुटवल कायम गर्छु भनेर निर्वाचन जितेका पौडेल अहिले निर्णायक अवस्थामा भने मुर्ति बनेर बसिदिए ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अर्का विश्वासपात्र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको राजनीति सहज बनाइदिन अर्का विश्वाशपात्र पौडेललाई मौन बसाएका हुन् ।
मौन बसेवापत पौडेललाई आज साँझसम्म अर्थमन्त्रीको जिम्मेवारी सुम्पिने तयारी ओलीले गरेको निकटस्थ स्रोतहरु बताउँछन् ।
अहिले रिक्त अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री टुंग्याउन ओली लागिरहेका छन् ।
ती मध्ये अर्थमा पौडेललाई नै ल्याउने निक्यौलमा ओली पुगेको उनको सचिवालयले जानकारी दियो ।
ओलीले अर्थमा पार्टी महासचिवसमेत रहेका पौडेल, सहरी विकासमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा स्थायी समिति सदस्य जनार्दन शर्मालाई मन्त्री बनाउने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग गरिसकेका छन् ।
यी मध्ये पौडेल र पाण्डे पूर्वएमाले र शर्मा पूर्वमाओवादी नेता हुन् । ओलीले पूर्व एमालेमा पनि मन्त्री बनाउन छानेका पौडेल आफ्नो र पाण्डे नेपालको गुटका नेता हुन् ।
पौडेलले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्न अर्थमन्त्री पाएर सहमत भएको पनि एमालेजनहरु बताउँछन् ।
प्रचण्ड ओलीले प्रस्तुत गरेका नाममा कुनै प्रतिक्रिया नदिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिने काम रोकिएको छ ।
प्रचण्डले ओलीलाई सल्लाह गरौला भन्ने जवाफ फर्काएकोे स्रोतले बतायो ।
सञ्चारमा प्रस्ताव गरिएका शर्माले भने आफूलाई सञ्चारभन्दा अन्य कुनै मन्त्रालय दिन आग्रह गरेको बताइन्छ । अभियान टाइम्सका साथमा ।
प्रकाशित : २०७७, २३ आश्विन शुक्रबार २३:४९