विवादित मुद्दा टुङ्ग्याउन ओली र प्रचण्डबीच छलफल

काठमाडौं, २८ असोज । सत्तारुढ नेकपाको कर्णाली संसदीय दलमा समस्या देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भयो । बुधबारमा ठोस निष्र्कष निस्किएन ।
बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको पष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
सत्तारुढ नेकपाको केन्द्रमै कुरो नमिलिरहेको समयमा अहिले कर्णाली प्रदेशले सकस पारेको छ ।
कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।
बिहीबार पनि दुवै अध्यक्ष बसेर पुनः छलफल गर्ने कार्यसूची तय भएको छ ।
कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि समस्या चर्किएको हो ।
उता मुख्यमन्त्री शाहीले पनि कर्णालीका नेकपा प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेकाछन् ।
उक्त बिवादमा ओली भर्सेस पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु एक ढिक्का भएका छन् ।
नेकपाको सत्ता सकस अहिले प्रदेश केन्द्रित देखिएको छ ।
प्रकाशित : २०७७, २८ आश्विन बुधबार १६:०४