गाँजा खान नपाएपछि साथीको हत्या!

  • 1
    Share
गाँजा खान नपाएपछि साथीको हत्या!
बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मुकुन्द रिजालका अनुसार पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्।
बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी रिजालले बताए ।
मृतक र अभियुक्त दुवै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीले अनुसन्धानकाे क्रममा पतालगाएकाे छ ।
मृतक अभिषेकले रविनलाई १ सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तँलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए। अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर जिस्काएको अनुसन्धानबाट खुलेको पत्रकार समेलनमा जानकारी दिईयाे ।
सोही घटनापछि आफू अपमानित भएको महशुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए। अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
‘घटना हुनुमा लागुऔषध दुर्व्यसन कारक रहेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘गाँजा खान नपाएपछि र अपमानित भएको महशुस गरेर अभियुक्तले हत्या गरेको बुझिन्छ।’ घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९:४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रकाशित : २०७७, २९ आश्विन बिहीबार १४:३८