शिलालेखमा नाम छुटाएको भन्दै घोडाघोडीका उपमेयर थापाद्वारा ढुङ्गा र मुक्का प्रहार

वीरेन्द्र शाह, कैलाली। कैलालीको घोडाघोडीमा वडा कार्यालयको भवनको शिलालेखमा आफनो नाम नराखको भन्दै उपमेयरले विरोध गरेकी छिन्। वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले सिलालेखमा ढुङ्गा र मुक्का बजार्दै विरोध गरेकी हुन्।
कार्यालय उद्घाटन गर्दै गर्दा मेयर र उपमेयर बीचको किचलो सार्वजनिक भयो। मेयर ममता प्रसाद चौधरीले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्दै थिए। उपमेयर प्रेम कुमारी थापाले त्यसै बेला ढुङ्गा लिएर त्यही शिलालेखमा प्रहार गर्न थालिन्। कार्यक्रममा उपस्थित सर्वसाधारण रमिता हेरेर बसेका थिए।
केही व्यक्तिहरुले उप मेयर सम्झनाउ खोज्दा उल्टै उनी आक्रेशित भइन्। उद्घाटनमा मेयर र उपमेयर बीच भनाभन भएको थियो। उपमेयर थापाले ढुङ्गाले शिलालेखमा हान्दै मुड्कीले पनि बजारेर नाराबाजी गर्न थालिन्। ‘मेरो मर्यादा खै?’ भन्दै उनले उफ्री उफ्री शिलालेखमा हानिरहिन्। उपस्थितहरूले उनलाई मनाउन खोजे तर, उनले मानिन्।
सोफामा बसेका मेयर बोले, ‘उपमेयरको कारण हामी धेरै बदनाम भएका छौँ।’ उपमेयरले जवाफ फर्काइन् , ‘मेयरको कारणले पुरै बडी (समूह ) बदनाम भएको छ।’
मेयर चौधरीले कार्यपालिकामा कुरा गरौँला भने। तर, उपमेयर टसको मस भइनन्। बरु मेयर विरुद्ध नाराबाजी गरिन्। ‘उपमेयरलाई अपमान गर्ने मुर्दावाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन्।
वडा कार्यालयमा अरूको सबैको नाम समेटिँदा आफ्नो नाम पूर्वाग्रही ढंगले हटाएको उनले आरोप लगाइन्। उनले शिलालेख परिवर्तन नहुँदासम्म उद्घाटन हुन नदिने अडान राखिन्। मेयर र उपमेयरको टकरावले वडाध्यक्ष धनबहादुर बम दिक्क भए। ‘तपाइँहरू जानुहोस्। अब वडाध्यक्षले उद्घाटन गर्छ। वडा सदस्यरु सहभागी हुन्छन्।’ यति भन्दै उनले शिलालेख सुधार हुनुपर्ने बताए।
जनताको पैसामा बनेको भवनमा नाम नलेखेको भन्दै भएको विवाद पछि स्थानीय पनि आक्रोशित भएका थिए। विवाद बढ्दै गएपछि उद्घाटन कार्यक्रम बिथोलिएको थियो।
गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले वडा नम्बर ७, ५ र १२ मा भवन निर्माण गरेको थियो। सबै भवनको शिलालेखमा उप प्रमुखको नाम छैन। शनिबार सबै भवन उद्घाटन कार्यक्रम भए पनि सुरुमै वडा नम्बर ७ मा विवाद भएको थियो। अन्य वडाको कार्यालयमा पनि मेयर चौधरीको मात्रै नाम समावेश छ। ती सबै स्थानमा उपमेयरको नाम पनि राख्ने सहमति पछि अन्य वडाको उद्घाटन कार्यक्रममा विवाद भएको थिएन।
प्रकाशित : २०७७, १ कार्तिक शनिबार १९:५१