लागूऔषधसहित दुई जना थानकोट प्रहरीको नियन्त्रणमा

  • 6
    Shares

२१ कात्तिक काठमाडौं ।    नागढुंगाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट लागूऔषधसहित बसका सहचालक भरत बिकलाई नियन्त्रणमा लिइएको हो ।

ना ५ ख ३०९९ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा सोही बसका सहचालक जिल्ला महोत्तरी गौशाला न.पा.–२ फुलचोक घर भएका १९ वर्षीय भरत बिकले बसको क्याविनको बाँया तर्फको सिट मुनी लुकाई राखेको अवस्थामा लागूऔषध फेला पारिएको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीले (डाइजेपाम) लेखिएको ५० एम्पुल, (फेनारगन) लेखिएको ५० एम्पुल र (लुपिजेसिक) लेखिएको ५० एम्पुल, (नाइट्राजेपाम) लेखिएको २४०० ट्याबलेटसहित विकलाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त लागूऔषध महोत्तरी गौशाला न.पा.–१ का विरेन्द्र कुमार शाहले पठाएको खुलेपछि निजलाई समेत ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीसँग समन्वय गरी महोत्तरीबाट नियन्त्रणमा लिइएको थानकोट प्रहरीले जनाएको छ ।

उनीहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७, २१ कार्तिक शुक्रबार १८:५७