६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिबासमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।     
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तर मा वार्ड नं ३ को पाटु र दक्षिण मा वार्ड नं ८ को क्वार्टर चौकसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार निषेधाज्ञामा ५ जना भन्दा बढी भेला हुन पाउने छैन । निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने कटुवालले जानकारी दिनुभयाे ।
बालिका हत्यापछि बर्दिबासमा स्थानिय र आफन्तहरुले बिरोध तथा प्रर्दशन गरेका छन् । मंगलबार प्रर्दशन तथा बिरोधलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि तीन जना घाइते भएका थिए ।
घाइतेमध्ये हेलिकप्टरबाट काठमाडौँ ल्याइएका बर्दिबास नगरपालिका वडा नम्वर १ का ४१ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।
स्थानियले मंगलाबार अभियुक्त साहको घर समेत आजजनी गरेका थिए। बलत्कारपछि हत्या भएको भन्दै हत्यारालाई कडा सजाय दिनुपर्ने माग गरिरहेका छन्।