नागढुङ्गामा ट्रकले किचेर विष्टकाे मृत्यु

१० मंसिर  काठमाडौ । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् ।
चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित ढलान बाटाेमा सडक खण्डमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको बताए ।
प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।