युवक संघका उपाध्यक्ष रोकासहित परिवार चढेको गाडी त्रिशुलीमा खस्यो

११ मंसिर, चितवन ।राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष मुकुन्द रोका सहितको परिवार चढेको गाडी त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
प्युठानबाट बिरामी छाेरी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।
दुर्घटना भए लगतै अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष मुकुन्द रोका नदीमा पौडिएर निस्किन सफल भएका छन् ।
जिल्ला प्रहरी ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टलेचितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको स्कारपियाे बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको बताए ।
अखिल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशाेर घिमिरेका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन् ।
घाइते मुकुन्दकाे चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।
बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।