अध्यक्ष प्रचण्ड र नेता नेपाल पक्षका ७ मन्त्रीहरुले दिए सामुहिक राजीनामा

काठमाडौं, ५ पुस । सरकारका ७ मन्त्रीले आइतबार सामुहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका ७ मन्त्रीहरुले पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीले संसद विघटन गर्न सिफारिस गरेको प्रति बिमत्ती जनाउदै मन्त्री पदबाट आफूहरुले राजीनामा दिएको उहाँहरको भनाइ छ । राजीनामा दिने मन्त्रीहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर रहनु भएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरे लगत्तै पूर्व माओवादी पक्षबाट मन्त्रीहरुले राजीनामाको तयारी गर्नुभएको थियो । त्यस लगत्तै नेताहरुसँग गरेको छलफल पछि उहाँहरुले राजीनामा दिनु भएको हो ।

राजीनामा दिँदै उहाँहरुले सबैले आबेगमा आएर राजीनामा दिएको नभइ गलतलाई गलत भनौँ भन्ने अभिप्रायले राजीनामा दिएको बताउनु भयो । प्रधानमन्त्री ओलीलाई आफ्नो गल्ती आभास गराउन र सच्याउन राजीनामा दिएको उहाँहरुकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार बिहान संसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । त्यसको केही समयपछि नै राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु भएको थियो ।