विदेशमा कोरोना निको हुने नेपालीको संख्या बद्ढो

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मुक्त हुने नेपालीको संख्या उल्लेख्य बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोभिड(१९ को संक्रमणमा परेकामध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली निको भएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा। सन्जीव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । उनका अनुसार यो साता नाइजेरिया, इजिप्‍ट, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा १८ सय १९ जनाको मृत्यु भएको छ भने विभिन्‍न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५७ हजार सात सय छ भने दुई लाख ४९ हजार १३२ जना अर्थात् ९६.७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन् ।