चितवन करागारबाट फरार थुनुवा पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।

कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५, कालिमाटी जंगलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी गएको मंसिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए ।

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पीसीआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आइतबार रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए ।