५२ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

  • 34
    Shares

काठमाडौं २२ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

२०७६ वैशाख २० गतेको गृह मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार ५४ जनाको बढुवा भएको थियो । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भए । १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा र १ जना क्रिया बिदामा रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।

 

पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘विगतका नराम्रा बानी भए सबै छोडनु, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’

पदोन्नति अघि जुनिएर प्रहरी अधिकृतको रुपमा काम गरी उनीहरुका भावना, पीडा, मर्का र अवस्थाको जानकार भई ती कर्मचारीसँग सामिप्यता राखी काम गरेको अनुभवले अब सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको श्रीवृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको प्रहरी महानिरीक्षक खनालले वताए । संगठनका १० बुँदे प्राथमिकतालाई मनन गरी तल्लो तहसम्म जानकारी गराउन र अक्षरस पालना गराउन उहाँले निर्देशन दिए ।

आर्थिक अनियमितता रोक्नेतर्फ सबै लाग्नुपर्ने चर्चा गर्दै उनले गैर व्यावसायिक चरित्र प्रदर्शन गरेमा जो कोही पनि सजायको भागिदार हुने भएकोले सचेत भएर पारदर्शी रुपमा अगाडि बढ्नुस् भन्नुभयो । पछिल्लो समय नेपाल प्रहरीले नराम्रो गर्छ भन्ने जनमानसको भावना घटेको पाइएको चर्चा गर्दै उहाँले आगामी दिनमा अझै विवेक पुर्यासएर काम गरी प्रहरीको छविमा उल्लेखनीय सुधार ल्याउनेतर्फ सबै कटिबद्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले प्रहरी संगठनका प्राथमिकता, नीति नियम र समुदाय(प्रहरी साझेदारी कार्यक्रमप्रति कटिबद्ध भई संगठनको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६, २२ बैशाख आईतवार २१:०६