मुस्लिम समुदायभित्र रहेका समस्या सम्बोधन हुन्छन् भन्ने आशा छ : राष्ट्रपति

बाँके( राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न मुस्लिम समुदायको उत्तरदायी भावना रहेको बताएकी छन् । मुस्लिम समाज बाँकेले आज साँझ नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न यस्ता पर्वले प्रेरणा प्रदान गरेको छ ।”

मुस्लिम समुदायसँग भेटघाट र अन्तक्र्रिया गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले रोजा इफ्तारका अवसरमा सुख, शान्ति र समृद्धिको कामना गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, “मुस्लिम समुदायभित्र रहेका समस्या र समुदायले उठाएका जायज सवालप्रति सरकार जानकार रहेकाले सम्बोधन हुनेमा आशावादी छु ।”

“भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन्”, राष्ट्रपति भण्डारीले भनिन्, “हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट आपसी सद्भावलाई अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गरौँ ।’

पहिलो पटक ‘रोजा इफ्तार’मा सहभागी हुनुभएका राष्ट्रपति भण्डारीलाई मुस्लिम समुदाय बाँकेले विभिन्न चार बुँदे अनुरोधपत्र बुझाएको छ । समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बुझाउनुभएको अनुरोधपत्रमा मुस्लिम समुदायको रुपमा छुट्टै पहिचान कायम गर्नका लागि पहल हुनुपर्ने, मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय रुपमा सार्वजनिक बिदाको व्यवस्था, राष्ट्रिय मदरसा बोर्ड गठन गर्नुपर्ने लगायतका विषय उल्लेख छ ।

सो अवसरमा शहरी विकासमन्त्री मोहम्मद इश्तेयाक राईले ‘रोजा इफ्तार’ समारोहमा सहभागी हुनुभएकोमा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि राष्ट्रपतिबाट भएको निर्देशन पालना गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएकी छिन् ।

पहिलो पटक राष्ट्र प्रमुख ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुस्लिम समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । कार्यक्रममा ठूलो सङ्ख्यामा मुस्लिम समुदायको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ ।