बौद्धको अत्तरखेलमा गोली चल्यो, एक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीले लुटपाटको घटनामा स‌लंग्न एक अभियुक्तलाई गोली हानेर नियन्त्रणमा दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी काका’ भनिने छिरिङ तामाङलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनको दाहिने खुट्टामा गोली लागेको छ ।

तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली हानेको प्रहरीले जनाएको छ ।

तामाङका अन्य पाँचजना साथीहरु भने यसअघि नै पक्राउ परिसकेका छन् । उक्त समूहमाथि २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको उजुरी महाशाखामा परेको छ ।

महाशाखाले तामाङसहित इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाँइ र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङलाइ पक्राउ गरेको छ ।