महानिरीक्षक खनालद्धारा विष्णुमति करिडोरको निरीक्षण

काठमाडौँ, २८ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताएका छन ।

नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उनले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताएका हुन ।

महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहिने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गरे । “हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकामा पाँचवटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नती गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ,”–उनले भने ।

सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउने कुरामा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारी साधनको चापमा कमी आउने बताए । “करिडोर निर्माणसँगै सवारी साधन निर्वाध ढङ्गले चल्न सक्छन्,”–उनले भने ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालिमाटीसम्म सहज ढङ्गले सवारी साधन आवतजावत गर्न सक्ने बताए । “बाटो ग्रावेल र पिच गर्न स्थानीय सरकार कटिवद्ध रहेको छ,”–उनले भने ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताए । करिडोर निर्माणका लागि महागरपालिकाले सहयोग गर्ने उनको भनाई थियो ।