प्रचण्ड भन्छन् अमेरिकाले ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुन सक्थ्यो

काठमाडौं, १७ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शान्ति प्रक्रियामा हस्ताक्षर गरेर गल्ती नगरेको भन्दै प्रतिक्रियावादले बेलाबेलामा टाउको उठाउने गरेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रचण्डले अमेरिकाले आफूमाथि ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए आज जे पनि हुन सक्ने बताउँदै जनताले संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन प्रतिक्रियावादीहरूले बेलाबेलामा यस्ता हर्कतहरू गरिरहने उल्लेख गरे ।

खेतबारीमा अन्न फलाउनका लागि बेलाबेलामा झारहरू गोडमेल गरेर फ्याँक्नुपर्ने बिम्ब दिँदै प्रचण्डले भने, ‘मैले यसलाई ठूलो केही भयो भन्न खोजेको होइन, तर यो गलत प्रवृत्ति हो । जसरी हामीले खेतबारी गोडमेल गर्छौं, एकपटक गोडमेल गरेर अब त यो झार गइसक्यो केही हुँदैन भन्ने ठान्यौं भने गलत हुन्छ । एकपटक गोडेर फ्याँकेको झार फेरि उम्रिन सक्छ र अन्नबालीलाई असर गर्न सक्छ । यसकारणले झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्छ ।’

प्रचण्डले निर्वाचनको बेलामा तराई, मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न आफूले धेरै काम गरेको दाबी समेत गरे । उनले के शान्ति प्रक्रियाको शुरुवात गर्नु गलत थियो, के देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ? भन्दै प्रश्न समेत गरेका छन् ।