सेप्टिक ट्यांकीभित्र एकै परिवारका ५ जनाकाे शव भेटियाे, घटना रहस्यमय

बारा, १६ असाेज । एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो साे ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।

जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताए अनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेकाे खुलेकाे छ ।

यसरी मेत अवस्थामा फेला परेका मध्ये बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएकाे छ ।

बुधबार राति ८ बजेतिर प्रहरीले साे घटनासम्बन्धी जानकारी पाएकाे थियाे । त्यसलगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएकाे छ ।

निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा ती शवहरू भेटिए पनि घटना रहस्यमय रहेकाे छ । उनीकाे मृत्युकाे कारण थाहा हुन सकेकाे छैन । सेप्टिक ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।