सीको सेड्युल : नेकपाका सचिवालय सदस्यलाई सामूहिक भेट्ने, प्रचण्डसँग वान–अन–वान भेटवाता

तस्बिर : प्रदीपराज वन्त

२६ असोज काठमाण्डौ  नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालय सदस्यहरूले भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आइतबार बिहान १०:३० बजेदेखि होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति सीले शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए। त्यसअघि शनिबार नै राष्ट्रपति सी शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।

त्यसपछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्ताका क्रममा केही महत्वपूर्ण सम्झौता र सहमति पत्रमा हस्ताक्षर हुनेछ।

नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने छ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।