दहचाेक–सिस्नेखोला सुरुङमार्ग प्रधानमन्त्री ओलीद्धारा आज शिलान्यास

४ कात्तिक काठमाडौं । पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो दहचााेक–सिस्नेखोला सुरुङमार्ग आज सोमबार शिलान्यास गरिने भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो ।

यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आज  अपराह्न चन्द्रागिरि नगरपालिका–१, दहचाेकमा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।

प्रवेशमार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको  छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको  छ ।  धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिनेछ ।

चार वर्षमा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सन्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।

उक्त मार्गमा दुईओटा साना ‘फ्लाइओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो ।