जिल्ला अदालत काठमाडौंद्वारा कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । महराको पक्षमा आइतबार र सोमबार गरी ३२ जना वकिलले बहस गरेका थिए । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो ।

आइतबार बहस नसकिएपछि उनीविरुद्धको पेशी सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । जिल्ला अदालतको एक नम्बर इजलासमा बन्द इजलास गठन गरी बहस सुरु भएको थियो । थुनछेक बहसका क्रममा महरामाथि आरोप लगाउने रोशनी शाही पनि अदालत पुगेकी थिइन् ।

महरा पक्षका कानुन व्यवसायीहरुले रोशनीमाथि बलात्कारको प्रयास नगरेकाले साधारण तारेखमा छुट्नुपर्ने माग गरेका थिए । तर सरकारी वकिलहरूले भने आफ्नै सचिवालयमा कार्यरत कर्मचारी शाही माथि बलात्कार प्रयास गरेको तत्कालीन अवस्थामा प्राप्त प्रमाणहरूले पुष्टि गरेको दाबी गरेका थिए ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।