भ्रमण बर्ष सफल वनाउन युवाहरू लाग्नु पर्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन् ।

चितवनको रत्ननगरमा शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे ।

उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरे ।

समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।

उनले भने, ‘‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।”

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि शुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पु¥याएको छ ।

रत्ननगरमा शुरु भएको जेसिजको ४६औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनमा नेपालभरका दुई हजार ५०० भन्दा बढी जेसिजकाे चितवनको रत्ननगरमा उपस्थिति रहेको छ ।

राष्ट्रिय अध्यक्षका लागि बीसहजार जेसीजका पूर्वअध्यक्ष
अरुणेश्वर खनाल,काभ्रे जेसीजका पूर्वअध्यक्ष विकास मानन्धर र पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंखर प्रतिस्पर्धामा छन् ।

निर्वाचन अगाडी जेसिसमा उम्मेदवारहरुलाई प्रशिक्षण दिने प्रचलन पनि छ । सोही अनुसार, वाककला , नेतृत्व, ब्यक्तित्व लगायतका बिषयमा प्रशिक्षण दिइने गरिन्छ । यो प्रशिक्षणमा सहभागी नहुनेले उम्मेदवार वन्न नपाउने विद्यान जेसिसको छ ।

यस अगाडी अध्यक्षका लागि शंखर, खनाल र मानन्धरका अतिरिक्त विनोद सुवेदीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर सुवेदी प्रशिक्षणमा सहभागी नभएका कारण उनको उम्मेदवारी खारेज भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवारहरु चुनावी परिणाम आफनो पोल्टामा पार्नका लागि आन्तरिक रणनीति गृहकार्य गरिरहेका छन् ।

त्यस्तै, जेसिसको कार्यकारिणी उपाध्यक्षमा यसपटक जेसी सुमृता शर्मा , श्रीराम पाैडेल,रूकमणी सिग्देल र शोभा खरेल लगायतले उम्मेदवारी दिएका छन् ।