गायिका आस्था राउत ब्लु क्रस अस्पतालकाे ४२३ बेड नम्बरमा

काठमाडौ । गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो ।

राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ बेड नम्बरमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । तर, के भएको खुलाएको छैन ।

उनलाई  ७ वजे अस्पतालमा लगिएकाे र उनकाे उपचारमा डाक्टर सुवासचन्द्र यादवकाे टाेली खटिएकाे एक स्राेतले बतायाे । डाक्ट यादव च्यस्ट सम्बन्धि डाक्टर हुन् ।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सोमबार साँझ ६ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि अस्पताल लगिएको स्रोतले बताएको छ ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।