काभ्रेको पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभ्रे (पनौती) – जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको छ भने २ राउण्ड हवाई फायर गरेको छ ।

प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका ३ जना घाईते भएका छन् । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । टिपरको ठक्करले आमा छोरी दुबैको ज्यान लिएको छ ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन् । पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छ ।