सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

रोशन दानी काठमाडौं, २६ चैत । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेपछि प्रहरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको छ ।

पक्राउ परेका ठूला उद्योगी अग्रवाल कालोबजारीकाे अभियाेगमा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अपराध महाशाखा टेकुका प्रमुख सहकुल थापाले न्यूज २४ लाई बताउनुभयो । उनलाई प्रहरीले सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ५ बमोजिम कारबाही हुने प्रहरीले बताएको छ ।

बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेन्टलाई ५ वर्ष कैद वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको एसएसपी थापाले बताउनुभयो ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेपछि शंकर ग्रुपका मालिक सुलभ अग्रवालको घर समेत प्रहरीले खानतलासी गरेको थियो ।

ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेकाे आरोप उनीमाथि लागेकाे छ । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको प्रहरीकाे आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो ।

कीर्गिस्तानमा अवैतनिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो । उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।
ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाजले ७.५ टन मात्र लिएर फर्कियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप, नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी सामान शंकर ग्रुपकै थियो ।

यस समूहले चीनबाट सामग्री ल्याईसकेपछि प्रहरीको बिशेष टोलीले गोप्य रूपमा निगरानी बढाएको थियो ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । प्रहरीनै स्वास्थ्य उपकरण खरिद गर्न गाडीमा नामनै टास गरेर १५ लाखमा १०० थान लिन १० लाख बोकेरै गएको स्रोतको दावी छ ।

‘हामी प्रहरी हौ कालोवजारी गर्नु भयो हामीले पक्राउ गर्दै छौ’ भन्दा अग्रवालले प्रहरीलाईनै हमला गर्न खोजेका थिए । पक्राउ परेका अग्रवालको बिषयमा लिएर अहिले अन्य कालाबजारीहरूको समेत भागाभाग भएको अनुमान गर्न थालिएको छ ।