घर जान थानकोट पुगेकाहरु त्रिभुवन पार्कमै बास

७ वैशाख, काठमाडौं । काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार त्रिभुवन पार्कबाट विभिन्न जिल्ला पठाएपछि पैदल हिँडेर गाउँ जान खोज्नेहरु आज आईतवार थानकोटस्थित त्रिभुवन पार्कमा रोकिएका छन् ।

आइतबार घर जाने भन्दै थानकोट क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले रोकेको हो । उनीहरुलाई आइतबारको रात त्रिभुवन पार्कमै राखिने भएको छ ।

शनिबार पैदल हिँडेर थानकोट पुगेका तीन सय जनालाई चन्द्रागिरि नगरपालिका र नेकपा सांसद अञ्जना विश‌ंखेको अगुवाईमा बस चढाएर घरतर्फ पठाइएको थियो । तर आइतबार जान पाइने आशामा थानकोट क्षेत्रमा पुगेकाहरु रोकिएका सञ्चारकर्मी दिनेश परियारले बताए ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जाे जाे स्थानमा छन् उनिहरूलाई हाेल्ड गर्नु भने अादेश बमोजिम आइतबार घरतर्फ जान राेक लगाएकाे बताए ।

अहिले पार्क क्षेत्रमा करिव १७५ जनालाई राति त्यहीँ राखिने एक स्राेतले बताएकाे छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर जो जहाँ छन्, त्यही रोक्नु र खान नपाएको भए राहत पुर्‍याउनु भन्ने निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न ठाउँबाट हिँड्दै घर गइरहेकाहरूलाई आजदेखि जो जहाँ पुगेका छन् त्यहीँका स्थानीय तहले राख्ने बताएका छन्।

आइतबार दिउँसो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भिडिओ कन्फरेन्स गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिँड्दै गइरहेका श्रमिकहरूलाई स्थानीय तहले खाना र बस्ने व्यवस्था गर्ने जानकारी दिए।

उनले सुरूमा स्थानीय तहहरूले राहत वितरण प्रभावकारी बनाउन नसक्दा र लकडाउन कति लामो समय चल्छ भन्ने अनिश्चितता हुँदा मजदुरहरू हिँडेरै घर गएको बताए।