कोरोना संक्रमणबाट सशस्त्र प्रहरी अस्पतालमा उपचार गराईरहेकी महिलाकाे मृत्यु

२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

उनमा संक्रमण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो।
उनको शव व्यवस्थापन नेपाली सेनाकाे श्री युद्ध कवच गण सितापाईलाका प्रमुख सेनानी देवेन्द्र खड्काकाे टाेलीले  तयारी थालेको छ।
त्यस्तै, वृद्धाको मृत्यु भएपछि कुरूवा बसेका उनका दुई छोराको पनि कोरोना भाइरसको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको छ।