मास्क नलगाउने बिरुद्द कठोर बन्दै सरकार, चार लाख कारवाहीमा

२५ लाख जरीवान असुल

 

काठमाडौं, भदौ १ गते । नेपालभरमा हालसम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई केही बेर सडकमा उम्भाउने, र मास्कको महत्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घर बाहिर निस्कनको लागि सम्झाउने काम भएको छ । त्यती हुँदा पनि अटेर गरेमा संक्रामक रोग निवारण ऐन अन्तरगत कारवाही गरेको छ ।

नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत मास्क प्रयोग नगरि हिड्नेलाई कारवाही गरिने प्रकृया अघि बढाएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा सम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएका मध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिड्न सम्झाएर पठाएको र उनीहरुलाई ३९ हजार ५०७ थान मास्क समेत वितरण गरेको प्रवक्ता बुढाले भन्नुभयो ।

२५ हजार २०७ जना व्यक्तिहरु मास्क नलगाई हिडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपिया राजस्व संकलन भएको प्रवक्ता बुढाले भन्नुभयो । अत्यावश्यक काम बाहेक काठमाडौ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौ भित्रने खोज्ने नाकाबाटै फर्काइएको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै र सकृय संक्रमित दैनिक सयौंको संख्यामा देखिन थालेपछि काठमाडौं जिल्लामा पाँच र ललितपुर र भक्तपुर जिल्लामा चार÷चार ओटा अनुगमन समितिले राजधानीका मल, भिडभाड हुने क्षेत्रमा अनुगमन गरिरहेको एक सातामा गृहमन्त्रालयमा प्रतिवेदन बुझाउने प्रवक्ता बुढाले बताउनुभयो । प्रतिवेदन बुझाएपछि थप जानकारी नियमित रुपमा सार्वजनिक हुने बुढाले जानकारी दिनुभयो ।