तनहुँका प्रमुख जिल्ला अधिकारीको आदेशमा कांग्रेस वरिष्ठ नेता पौडेल र आलेलाई पक्राउ

तनहुँ : व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा  वरिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्रणमा लिएको छ भने कांग्रेस कार्यकर्तामाथि अन्दाधुन्द लाठी प्रहार गरेको छ ।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ ।
बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।