कालोपत्रे गर्न माग गर्दै स्थानीयद्वारा बौद्ध जोरपाटी सडक खण्डमा विरोध प्रदर्शन

काठमाडौं ,बैशाख २६ ।  स्थानीयले बौद्ध जोरपाटी सडक खण्ड ठप्प पारेका छन् ।लामो समय देखि सडक मर्मत हुन नसक्दा धुवा धुलो र सास्ती खेपिरहेका चावहिल- बौद्ध -जोरपाटी सडकखण्डका आक्रोसित स्थानीयले सो आन्दोलन गरेका हुन् ।

 विभिन्न मागहरु राख्दै संघ र स्थानीयवासी मिलेर विहिवार बिहान सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा चाबहिलबाट जोरपाटीतर्फ जाने र जोरपाटी तर्फबाट चाबहिलतर्फ आउने सवारी प्रभावित भएका छन् ।

बिहिबारबाट सुरु गरिएको दवाबमुलक बिरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने बताएका छन्। समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत-जावत रोकेका थिए । यद्यपि प्रहरीले सडकका अवरोधहरु हटाएको छ । तर, उनीहरुको प्रदर्शनका कारण यातायात आवागमन प्रभावित भएको छ ।

यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सडक जीर्ण भएकाले मानव स्वास्थ्यमा असर परेको र व्यापार व्यवसाय पनि संकटमा परेको गुनासो उनीहरुको छ ।

यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ

चाबहिल–जोरपाटी–साँखु  सडक निर्माणमा  सक्रियता नदेखाउँदा स्थानीय साथै विभिन्न देशका पर्यटकसमेतले हैरानी बेहोर्नुपरेको हो ।अधिकांश स्थानमा भत्किएका तथा बिग्रिएका सडकका कारण सवारी साधन चलाउनमात्रै होइन छेउबाट हिँड्न समेत सर्वसाधारणलाई कठिनाइ भइरहेको छ भने वर्षायाम शुरु भएसँगै सडकमा हिलो र स-साना पोखरी बन्ने गर्छन्। कतिपय स्थानमा पानी जमेका स्थानमा दुर्घटना समेत हुने गरेका  छन्।