२९ जेठ,धनगढी । फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका दुई जना प्रतिवादीहरूलाई प्रहरीले विशेष रणनीति र समन्वयमा गोली प्रहार गरी नियन्त्रणमा लिनु परेकाे बताएकाे छ ।
प्रहरीका अनुसार, मिति २०८२ साल जेठ १५ गते टिकापुर नगरपालिका–१ स्थितमा वर्ष ३१ का टेकेन्द्र बिष्ट (मानस) माथि धारिलो हतियार (खुकुरी र चक्कु) प्रयोग गरी आक्रमण गरी फरार रहेका कैलाली धनगढी उपमहानगरपालिका–५ का वर्ष २५ का मिलन चन्द र अछामको मंगलसेन नगरपालिका–५ का वर्ष २३ का रिदम ढुङ्गानालाई भारततर्फ भाग्ने क्रममा कैलालीको कैलारी गाउँपालिका–३, शिवरत्नपुरस्थित नेपाल–भारत सीमा नजिकबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरको संयुक्त टोलीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहको विशेष सहयोगमा उक्त कार्यवाही गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बाल नर्सिङ राणाले प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा भजनी नगरपालिका–७, हुलाकी राजमार्ग खण्डअन्तर्गत हिक्मतपुर सामुदायिक बन नजिक पिसाब फेर्न रोकेको बेला दुबै प्रतिवादीले प्रहरीमाथि हातपात गरी दक्षिणतर्फको जंगलतिर भाग्न खोजेका बताए । उक्त क्रममा प्रहरीले रोक्न पाँच राउन्ड हवाई फायर गरेको थियो।
तर प्रतिवादीहरूले प्रहरीको पेस्तोल खोस्न प्रयास गरेपछि, प्रहरी टोलीले आत्मरक्षाका लागि गोली प्रहार गर्न बाध्य भएको एसपी राणाले बताए । गोली लाग्दा मिलन चन्दको बाँया खुट्टाको घुँडा मुनि र रिदम ढुङ्गानाको दाहिने खुट्टाको घुँडा मुनि चोट लागेको छ।
घाइते दुबैलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि पठाइएको छ, जहाँ उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घटनामा प्रहरीले कुल ७ राउन्ड गोली प्रयोग गरेको जनाइएको छ। प्रहरी टोली भने सकुशल रहेको छ।
घटना स्थल जिल्ला प्रहरी कार्यालय कैलालीबाट करिब ७०–७५ किलोमिटर पूर्व पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।