७ असाेज, काठमाडौं ।नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको नगरसभापति पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सार्वजनिक अन्तिम नामावली अनुसार नगरसभापति पदका लागि विभिन्न आकांक्षीहरूले आफ्नो दाबी पेस गरेका छन्।
प्राप्त विवरण अनुसार नगरसभापति पदका लागि राजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठ, इन्जिनियर रमेश सुवेदी, कृष्ण प्रसाद शाही खड्गी, प्रकाश श्रेष्ठ, राजेन्द्र विक्रम बानियाँ र अधिवक्ता पुरुषोत्तम उदासले मनोनयन दर्ता गराउनुभएको छ।
चुनावी माहोल तातिँदै गर्दा सभापति पदका उम्मेदवार प्रकाश श्रेष्ठ बलियो प्रतिस्पर्धीका रूपमा अगाडि देखिएका छन्। विशेष गरी दुई कार्यकाल वडा अध्यक्ष तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसक्नुभएका कृष्ण प्रसाद शाही (खड्गी) र प्रकाश श्रेष्ठबीच मुख्य तथा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
यसैक्रममा श्रेष्ठले आफ्नो उम्मेदवारी संगठनको सुदृढीकरण र समावेशी नेतृत्वका लागि भएको बताएका छन्। चुनावी समीकरणमा नयाँ मोड आउने संकेत गर्दै केही अन्य उम्मेदवारहरूले भोलिसम्ममा आफ्नो उम्मेदवारी फिर्ता लिने र प्रकाश श्रेष्ठलाई समर्थन (सपोर्ट) गर्ने अनुमान गरिएको छ।
अन्य उम्मेदवारहरूको सम्भावित समर्थन र श्रेष्ठको पक्षमा बन्दै गएको माहोलले चन्द्रागिरि कांग्रेसको चुनावी नतिजालाई अझ रोचक बनाउने देखिएको छ।