काठमाडौँ, असोज २४ — नेपाली काँग्रेसको १५औँ महाअधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ९ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा लोकप्रिय चलचित्र निर्देशक तथा समाजसेवी अमृतमान महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ।
पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आउनु भएका महर्जन सर्वसम्मत रूपमा यस महत्वपूर्ण जिम्मेवारीमा चयन हुनुभएको हो। कला क्षेत्रको विकासका साथै सामाजिक रूपान्तरण र राजनीतिक संगठन विस्तारमा निरन्तर क्रियाशील महर्जनको यो चयनले क्षेत्रका कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको छ।
“नेपाली काँग्रेसको १५औँ महाअधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिजस्तो गरिमामय पदमा मलाई निर्विरोध निर्वाचित गराउनुहुने पार्टीका सम्पूर्ण अग्रज नेताज्यूहरू, आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मतदाता साथीहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।”
“कला क्षेत्र र राजनीतिक यात्रालाई सँगसँगै अगाडि बढाइरहँदा पार्टी संगठनलाई अझ सुदृढ, गतिशीलतायुक्त र जनतासँग जोडिएको बनाउन मेरो सधैँ जोड रहनेछ। मप्रति पार्टीका साथीहरूले जो विश्वास र भरोसा देखाउनुभएको छ, त्यसलाई म सधैँ उच्च सम्मान गर्दै पार्टीको नीति, सिद्धान्त र जनभावनाअनुरूप निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउँछु।”
निर्वाचनमा निर्विरोध निर्वाचित भएपछि उहाँलाई शुभचिन्तक, कलाकर्मी तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।