काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरिका १५ वटै वडामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै नगर नेतृत्व कसको हातमा जाने भन्ने बहस र जोडघटाउ तीव्र बनेको छ।
आगामी असोज ७ गते हुने नगर अधिवेशन नजिकिँदै गर्दा पार्टी कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरू माझ राजेन्द्र बानियाँ नगर सभापतिको प्रमुख एवं बलियो दाबेदारका रूपमा अगाडि देखिएका छन्।
लामो समयदेखि पार्टी सङ्गठनलाई गतिशील बनाउँदै आएका बानियाँ विगत ८ वर्षदेखि चन्द्रागिरि कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर कुशलतापूर्वक काम गरिसकेका अनुभवी नेता हुन्। संगठनभित्र संकट र कठिन परिस्थिति आउँदा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्ने उनको सन्तुलित र परिपक्व नेतृत्व क्षमतालाई स्थानीय नेता-कार्यकर्ताले नजिकबाट मूल्याङ्कन गरेका छन्।
सर्वदलीय सहकार्य र समाजसेवाको उदाहरणीय छवि
राजेन्द्र बानियाँको मुख्य सबल पक्ष भनेको सबै राजनीतिक दलहरूसँग सहज संवाद, सहकार्य र समन्वय गर्न सक्ने विलक्षण क्षमता हो। राजनीतिक प्रतिशोधभन्दा माथि उठेर चन्द्रागिरिको समग्र विकास र साझा हितका लागि अन्य राजनीतिक शक्तिहरूसँग पनि सहकार्य गर्न सक्ने उनको विशेषताले गर्दा उनी पार्टीभित्र मात्र नभई सर्वदलीय वृत्तमा समेत उत्तिकै लोकप्रिय र सम्मानित छन्।
एक विकासप्रेमी नेता र अग्रणी समाजसेवीका रूपमा स्थापित बानियाँले चन्द्रागिरि क्षेत्रको सामाजिक, भौतिक तथा शैक्षिक रूपान्तरणमा लगातार योगदान पुर्याउँदै आएका छन्।
व्यावसायिक र शैक्षिक क्षेत्रमा सबल नेतृत्व
राजनीतिक भूमिकाका अतिरिक्त बानियाँ बहुआयामिक व्यक्तित्वका धनी छन्: व्यावसायिक नेतृत्व: उनी नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भई देशभरका यातायात व्यवसायी र श्रमिकहरूको हकहितका लागि सफल नेतृत्व प्रदान गरिसकेका व्यक्ति हुन्।
शैक्षिक पृष्ठभूमि: पूर्व प्राध्यापक समेत रहेका बानियाँ बौद्धिक, अध्ययनशील र स्पष्ट नीतिगत दृष्टिकोण भएका नेता मानिन्छन्।
विभिन्न तह र क्षेत्रमा सफल नेतृत्वदायी भूमिका निभाइसकेकाले चन्द्रागिरि कांग्रेसलाई चुस्त, गतिशील र आगामी स्थानीय तह निर्वाचनमा विजयी गराउन बानियाँकै नेतृत्व अपरिहार्य रहेको चर्चा कार्यकर्ता पंक्तिमा चलेको छ।
“पार्टी सङ्गठन र चन्द्रागिरिको समग्र विकास नै मेरो प्राथमिकता” — बानियाँ
आफ्नो उम्मेदवारी र तयारीबारे बानीयाँ भन्छन्: ”८ वर्षसम्म कार्यवाहक सभापतिका रूपमा चन्द्रागिरि कांग्रेसको सङ्गठनलाई वडा र टोल तहसम्म सुदृढ बनाउने अवसर पाएँ। यस अवधिमा सबै साथीहरूलाई मिलाएर, सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै चन्द्रागिरिको विकास निर्माणमा जोडिएर काम गरेको अनुभव मसँग छ। पूर्व प्राध्यापक र व्यावसायिक संघ-संस्थामा नेतृत्व सम्हालेको अनुभवलाई अब चन्द्रागिरि कांग्रेसको पूर्ण नेतृत्व लिएर पार्टी र नगरको समृद्धिमा लगाउन चाहन्छु। क्षेत्रीय प्रतिनिधि र आम कार्यकर्ता साथीहरूले ममाथि देखाउनुभएको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
अधिवेशनको समीकरण
आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट मेयरको उम्मेदवार बन्ने रणनीतिक आधारसँग पनि नगर सभापतिको पद जोडिएकाले यसपटकको अधिवेशनलाई चन्द्रागिरिमा विशेष चासोका साथ हेरिएको छ।
यद्यपि नगर सभापतिमा आकाक्षीहरू कृष्ण प्रसाद खड्की,प्रकाश श्रेष्ठ रामेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन लगायत अन्य नेताहरूको नाम पनि चर्चामा छ, तर अनुभव, सर्वस्वीकार्यता, सामाजिक पहुँच र व्यावसायिक-शैक्षिक उचाइका कारण राजेन्द्र बानियाँ अन्य आकांक्षीहरूभन्दा निकै अगाडि र बलियो स्थितिमा देखिएका छन्। असोज ३ र ४ गते चुनिएका क्षेत्रीय प्रतिनिधिहरूले पनि बानियाँको अनुभवी र सन्तुलित नेतृत्वलाई नै रोज्ने सम्भावना प्रबल बन्दै गएको छ।