• ट्रेण्डिङ :

चन्द्रागिरि–७ त्रिवेणी घाटमा कार्तिक पूर्णिमाको दिन विशेष ‘त्रिवेणी मेला स्नान’ हुने, स्थानीय बिदा घोषणा

चन्द्रागिरि–७ त्रिवेणी घाटमा कार्तिक पूर्णिमाको दिन विशेष ‘त्रिवेणी मेला स्नान’ हुने, स्थानीय बिदा घोषणा

cnewsnepal

सोमबार, मंसिर ८ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित ऐतिहासिक त्रिवेणी घाटमा यही कार्तिक पूर्णिमा  मंसिर ८ गते  मंगलबार विशेष ‘त्रिवेणी मेला स्नान’ आयोजना हुने भएको छ।

हिमवत् खण्डमा समेत उल्लेख रहेको त्रिवेणी धामको यो स्नान मेला नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार परम्परागत रूपमा गरिँदै आएको धार्मिक एवं सांस्कृतिक पर्व हो।

​‘धर्म संस्कृति जगेर्ना गरौँ। त्रिवेणीमा स्नान गरौँ। त्रिवेणी जाऔँ, पुण्य कमाऔँ।’ भन्ने मूल नारासहित त्रिवेणी धर्म संघ, चन्द्रागिरि न.पा. ७, बानस्थलीको आयोजनामा मेला हुन लागेको हो।

मेला २०८३/०८/०८ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म त्रिवेणी धाम, भष्मेश्वर महादेव मन्दिर, त्रिवेणी प्रांगण, बानस्थलीमा सञ्चालन हुनेछ।

​कार्यक्रम संयोजक शम्भु जंग कार्कीले त्रिवेणी धामको धार्मिक र ऐतिहासिक महत्त्वलाई जोगाइराख्न मेलाको निरन्तरता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिमवत् खण्डमा समेत महिमा गाइएको पवित्र त्रिवेणी धाममा परापूर्वकालदेखि चल्दै आएको यो स्नान मेला हाम्रो धर्म, संस्कृति र आस्थाको धरोहर हो। पञ्चाङ्ग निर्णायक समितिको पात्रोमा समेत उल्लेखित यस पावन अवसरमा सम्पूर्ण भक्तजनहरू उपस्थित भई स्नान र पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गर्दछु।”

​यसैबीच, परापूर्वकालदेखि ऐतिहासिक महत्त्वका साथ प्रत्येक वर्ष मनाउँदै आएको त्रिवेणीघाट मेलाको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. ७ को वडा कार्यालयले २०८३/०८/०८ गते मंगलबार स्थानीय बिदा दिने निर्णय गरेको छ। २०८३/०८/०७ गते बसेको वडा समितिको बैठकको निर्णयानुसार उक्त दिन वडा कार्यालय तथा वडा कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरूबाट प्रदान गरिने सेवाहरू बन्द रहने कार्यवाहक अध्यक्ष राम शरण महतद्वारा जारी सूचनामा जनाइएको छ।

​वडा कार्यालयले मेलाका कारण सेवा प्रवाह बन्द रहँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी व्यक्त गर्दै मेला भर्न तथा अवलोकन गर्न सम्पूर्ण सरोकारवाला महानुभावहरूलाई हार्दिक अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार