१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको छैटौं वार्षिकोत्सव सम्पन्न भएको छ ।
एलुम्नाई एशोसिएशन नेपालको छैटौं वार्षिकोत्सव सञ्जाल निर्माण कार्यक्रम आयोजना गरी सम्पन्न भएको हो । त्रिवि कार्यकारी परिषद्ले २०७४ मंसीर १२ गते एलुम्नाई एशोसिएशन निर्देशिका जारी गरेपछि संस्थाको स्थापना भएको थियो । हरेक वर्ष उक्त दिनलाई संस्थाले त्रिविको एलुम्नाई दिवसको रुपमा मनाउन शुरु गरेको थियो ।

त्रिवि विश्वविद्यालय भवन परिसरमा आयोजित कार्यक्रममा त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले कुनै पनि संस्था स्थापना भएपछि त्यसले उद्देश्य प्राप्तिमा अविच्छिन्न रुपमा निरन्तरता पाउनुपर्ने धारणा व्यक्त गरे । आफु अध्ययन गरेको विश्वविद्यालयको सर्वाङ्गिण पक्षमा विश्वभर नै अपनत्व कायम गर्दै एलुम्नाईहरुले योगदान गर्दै आएको बताए । उनले त्रिभुवन विश्वविद्यालयमा पनि देश विदेशमा रहनु हुने एलुम्नाईहरुले आवश्यकता पहिचान गरी योगदान गर्न सक्नुपर्ने धारणा राखे । एलुम्नाईहरुको तर्फबाट विश्वविद्यालयमा संस्थागत योगदान गर्न सकियोस् भनेर एलुम्नाई संस्थाको स्थापना भएको बताए ।उनले संस्थाको माध्यमबाट त्रिविलाई भौतिक, आर्थिक, शैक्षिक एवम् पूर्वाधारको क्षेत्रमा योगदान गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा संस्थाका कार्य समिति सदस्यहरु खुमा धिताल, नारायण जोशी, भोलानाथ ढकाल, प्रा।डा। चन्द्रलाल श्रेष्ठ, इन्द्रेश ठाकुर, आजीवन सदस्यहरु विष्णुकुमार कार्की, विकास ढकाल, मन माया तामाङ, नोदनाथ त्रिताल लगायतको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा उपस्थित भई सदस्यता प्राप्त गर्न इच्छुक पूर्व विद्यार्थीहरुलाई संस्थाको आजीवन सदस्यता वितरण गरिएको थियो । यसै सन्दर्भमा संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र महासचिव डा। धिरज प्रधानाङ्गले सो अवसरमा सम्पूर्ण आजीवन सदस्यहरुलाई शुभकामना सन्देश जारी गर्दै संस्थागत योगदानका लागि सञ्जालमा आबद्ध भई सहयोग र सहकार्य गर्न अपिल गरे ।